अर्थतन्त्र आत्तिहाल्नुुपर्ने अवस्था होइन तर खस्कँदो अवस्थामा छ

काठमाडौँ । अर्थतन्त्र सङ्कटतर्फ अग्रसर भइरहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको अर्थविद्हरूले बताएका छन् । वर्तमान आर्थिक अवस्थामा बाह्य क्षेत्रको भुक्तानी असन्तुलन, विदेशी मुद्रा सञ्चितिमा कमी, शोधनान्तर घाटा बढ्नुु मुुख्य समस्या हो । वस्तुु तथा सेवा आयात गर्न विदेशी मुुद्रा सञ्चिति छ महिनालाई छ, यो आत्तिहाल्नुुपर्ने अवस्था होइन तर खस्कँदो अवस्थामा छ ।

मदन भण्डारी बौद्धिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘मुलुकको सङ्कट उन्मुख अर्थतन्त्र र आव २०७९ र ८० को राष्ट्रिय बजेट’ विषयक अन्तक्र्रियामा अर्थविद्हरूले सो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आन्तरिक र बाह्य क्षेत्रमा समस्या आएकाले अर्थतन्त्रमा सङ्कट देखिएको बताएका छन् । “तथ्याङ्कले अर्थतन्त्र सङ्कट उन्मुख भन्छ, चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको १४ प्रतिशत पुग्दै छ । अन्य देश यो ८ प्रतिशत हुँदा सङ्कट अवस्थामा पुगेका छन्,” खतिवडाले भने ।

विदेशी मुद्रा सञ्चितिमा कमी, बढ्दो व्यापार घाटा, बैङ्कको कर्जा प्रवाह बढेको, शोधनान्तर घाटा, तरलता अभावले वित्तीय क्षेत्र समस्यामा रहेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकाङ्क्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको बताए ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वर्तमान आर्थिक अवस्थामा बाह्य क्षेत्रको भुक्तानी असन्तुलन, विदेशी मुद्रा सञ्चितिमा कमी, शोधनान्तर घाटा बढ्नु मुख्य समस्या रहेको बताएका छन् ।

“वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रा सञ्चिति छ महिनालाई छ, यो आत्तिहाल्नुपर्ने अवस्था होइन तर खस्कँदो अवस्थामा छ,” उले भने । तरलता अभावले बैङ्कमा ब्याजदर बढ्दै जाँदा वित्तीय क्षेत्रमा लगानी बढ्न नसकेको उनको भनाइ थियो । “पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेकाले विप्रेषण आप्रवाह बढ्दा यसले अर्थतन्त्र सुधारतर्फ लैजान्छ । पर्यटक आगमन र विद्युत् निर्यात बढेको छ । अब सिमेन्ट निर्यात गर्न सकियो भने यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,” तर पनि अर्थतन्त्र दबाबको अवस्थामा रहेकाले होसियार हुनुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। दिलनाथ दङ्गालले वैदेशिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत रहेको, ऋणको ब्याज श्रीलङ्काको जस्तो महँगो र चाँडो भुक्तान गर्नुपर्ने अवस्थामा नरहेकोजस्ता कारणले अर्थतन्त्र सबल अवस्थामै रहेको बताएका छन् । तर पनि कमजोर आर्थिक वृद्धि, मलको अभावमा कृषि उत्पादनमा कमी आई आयात बढ्दो अवस्थामा रहेको, पुँजीगत खर्च कम रहेको र गैरजिम्मेवार आर्थिक नीतिका कारणले अर्थतन्त्र सङ्कटमा जान सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।