शाही हत्या आरोपमा मेयर चलाउने पक्राउ

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन्।

गत जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा विनोद मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो। किटानी जाहेरीमा भएका पाँच जना यसअघि नै पक्राउ परिसकेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार मेयर चलाउनेको नाममा पनि किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई बोलाएको बताए। ‘मेयर चलाउने बोलाएपछि आफैं आउनु भएको हो, उहाँसँगै किटानी जाहेरीमा नाम भएका नेत्र शाहीलाई पनि पक्राउ गरिएको छ’ डिएसपी डाँगीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने बताएको छ ।