तीन मन्त्रीहरु फिर्ता, नयाँ मन्त्रीको शपथ ग्रहणको तयारी

काठमाडौँ । जसपाको तीन नयाँ मन्त्रीको शपथ ग्रहणको तयारी भएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्रीहरु फिर्ता बोलाएको छ । साथै, नयाँ तीन मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री देउवाले तीनजना मन्त्रीलाई नियुक्तिका लागि सिफारिससहित नामावली राष्ट्रपति भवन पठाइसकेका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको हो ।

प्रधानमन्त्रीबाट नयाँ मन्त्रीको नाम सिफारिस भएपछि शपथ ग्रहणको तयारी सुरु गरिएको छ । राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले ३ बजेपछि शपथग्रहणको सम्भावना रहेको जानकारी दिइएका छन् ।

यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए ।