सुरक्षा व्यवस्थालाई बलियो बनाउने गरी प्रहरी ऐन संशोधन गर्न सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश प्रहरीको कार्य क्षेत्रलाई व्यवस्थापन गर्न उक्त विधेयक ल्याइएको जानकारी दिएका छन् । बैठकमा संशोधनकर्ता सांसदहरुले धेरै जनसङ्ख्या रहेको काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई बलियो बनाउने गरी प्रहरी ऐन संशोधन गरिनुपर्नेमा जोड दिएका छन् ।

संशोधनकर्ता सांसदहरू दिव्यमणी राजभण्डारी, रेखा शर्मा, गङ्गा चौधरी, नारायण खतिवडाले प्रदेश प्रहरीलाई खण्ड खण्डमा अधिकार नदिई सक्षम सङ्गठनका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएका छन् ।

१० वर्षे द्वन्द्वकालमा विस्थापित भई नेपाल प्रहरीबाट जागिर गुमाएकाहरूलाई समेत प्रहरी ऐनले समेट्नुपर्नेमा सांसदहरुले जोड दिइएका छन् । त्यसैगरी, सांसदहरू झपट रावल र नवराज सिलवाललगायतले नेपाल प्रहरीलाई अनुसन्धानमा विश्वास गर्नुपर्ने बताउनुहुँदै संशोधनमा पुनर्विचार गर्न आग्रह समेत गरेका छन् ।