ललितपुरमा नगर प्रहरी क्विक रेस्पोन्स टिमका ५ विद्युतीय स्कुटर सञ्चालनमा

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।

बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्दश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरेका छन् । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको उनले बताए ।

प्रमुख महर्जनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भए पनि महत्वपूर्ण काम गरेको उल्लेख गरे । पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताएका छन् ।

महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताउदै पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने प्रमुख महर्जनको भनाइ छ ।