बुबाको मृत्यु, ६ बालबालिका बिचल्ली

काठमाडौँ । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका १, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो ।

परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।

स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भने । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली भएको ।

स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताए ।