एकै दिन २२० केभी भोल्टका तीनवटा सवस्टेसन सञ्चालन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एकै दिन २ सय २० किलो भोल्ट (के.भि.) का तीन वटा सवस्टेसन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २ सय २० केभी सवस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । २ सय २० र १ सय ३२ र ३३ केभी तुम्लिङटार र २ सय २० र ३३ केभी बानेश्वर सवस्टेसनमा क्रमशः २ ससय ६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् ।

कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २ सय २० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ १ सय ५ किलोमिटर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए । २ सय २० केभी प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सवस्टेसनको लोड इनरुवा सवस्टेसनमा सार्न सकिने भएकोले उद्योगहरुलाई थप विद्युत दिन सकिन्छ । साथै, भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ’, घिसिङले भने यो, ‘संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत आयोजनाहरुका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुने छ, कोसी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सवस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने छ ।’

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

इनरुवा सवस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । सङ्खुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो ।

सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १ सय ३२ केभी प्रसारण लाइन र सवस्टेसन निर्माणाधीन छन् । प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गरे ।

कोसी करिडोरअन्तर्गत बसन्तपुर–ढुंगेसाँघु ताप्लेजुङ खण्ड र वसन्तपुरमा २ सय २० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । करिडोरको २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट सङ्खुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २ सय २० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एकतर्फ मात्र तार तानिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । एक नम्बर प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।

अरुण र तमोर नदी र तिनिहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २ सय २० केभी प्रसारण लाइन हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।