मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन

काठमाडौँ । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख ७ हजार ६ सय २४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिइएका छन् ।

कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत ३ करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत ६० करोड ५० लाख २६ हजार २ सय ८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत २ लाख ५० हजार ३ सय ५० र लाइसेन्सतर्फ रू १९ करोड ३३ लाख ७८ हजार २ सय ४३ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो । प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी ८२ करोड १८ लाख ३ सय ७४ र संघीय कोषमा जम्मा हुने गरी ३ करोड ९३ लाख ७ हजार २ सय ५० राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताए ।