मनाङमा ४९ नयाँ उद्योग थपिए

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा मनाङ जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।

एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ । 

हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए ।  सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएको उनले बताए ।  जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको उनले जानकारी दिए ।  वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा उद्योगतर्फ कूल चार सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा उद्योगतर्फ कूल ४ सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए । घरेलु कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उद्योगतर्फ ३ लाख ८ हजार १ हजार ५० राजश्व सङ्कलन गरेको छ । त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार ८ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट २ हजार ८ सय २० गरी कूल ३ लाख ३० हजार ७ सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताए । 

कार्यालय प्रमुख पौडेलका अनुसार “यस आर्थिक वर्षमा जिल्लामा विभिन्न तालिम तथा प्रविधि हस्तान्तरण पनि गरिएको छ ।  उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको उनले जानकारी दिइएका छन् । सोही अवधिमा उद्यमशीलता विकास, अचार बनाउने तालिम, आधारभूत बेकरी निर्माण, आधारभूत हाते बुनाइ तथा पत्रकारिता तालिम लगायतका विभिन्न तालिमका साथै प्रविधि हस्तान्तरणसमेत गरिएको कार्यालयले जानकारी गराएको छ ।