कन्काई र विरिङ खोलाको पुल अझै बन्न सकेन, यात्रा जोखिमपूर्ण

काठमाडौँ । कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अभैm हटेको छैन । पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताइन् ।

विसं २०६८ मा ३४ करोडमा ठेक्का लागेको ७ सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन ।

वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । वर्षातमा सधै काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताए ।

पुल नबन्दा त्यहाँ वर्षौदेखि नदि तर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन । झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताए ।