साउनको चौँथो सोमबार हजारौँ भक्तजन पशुपति क्षेत्रमा

काठमाडौँ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ ।
साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ ।

विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिइएको छ । तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन ।

आज भने टन्टलापुर घाम लाग्दा पनि भक्तजन डगमगाएका छैनन् । छाता ओढेर भए पनि भगवानलाई शुद्ध जलसहित पूजाआराधना गर्ने धोकोले लाममा बसेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । साउनको सोमबार अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले व्रत बस्ने गर्छन् ।

पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन् ।

देशका सबै शिवालयमा भक्तजनको भीड

राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छन् । राजधानीका भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजाआराधना गरिरहेका छन् । साउने सोमबारको व्रत बस्नेले कुनै न कुनै शिवालयमा गएर पूजा, आराधना र दर्शन गर्ने गरेका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउन्छ । महिलाले मात्र साउनको सोमबारको व्रत गर्ने भन्ने चर्चा शास्त्रीय नभएको उनले सुनाउए । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ ।

साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ ।