आजा पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २ सय १४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ मूल्यमा कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाउन सफल भएको छ । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गुमाए ।