घरेलु हिंसा बढ्दै : एक वर्षमा २ सय ४५ उजुरी

काठमाडौँ । तनहुँमा पछिल्लो समय घरेलु हिंसाका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८ र ७९ मा २ सय ४५ वटा घरेलु हिंसाका घटनासम्बन्धी निवेदन दर्ता भएका छन् ।

घरेलु हिंसाका घटनामा मादक पदार्थ सेवन गरी झैँ–झगडा, श्रीमानले श्रीमतीलाई मानसिक यातना दिएको, परिवारका अन्य सदस्यसँग झैँ–झगडा , श्रीमतीलाई खान लाउन नदिएको, स्थानीय विवाद, गालीगलौज लगायतका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका हुन् ।

आव २०७८ र ७९ मा घरेलु हिंसा शारीरिक, मानसिक, आर्थिक यातना सम्बन्धी १ सय ८३ निवेदनमा १ सय १५ मिलापत्र भएको र ४२ वटा निवेदन अदालत गएको र २६ वटा निवेदनको काम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँको भनाइ छ । यस्तै श्रीमान पीडित भएको २४ वटा निवेदनमा ७ वटा मिलापत्र भएको र १४ वटा अदालत गएको र ३ वटाको काम बाँकी रहेको प्रहरीले जानकारी दिइएको छ । त्यस्तै स्थानीय विवाद, झैँ–झगडा , गालीगलौज सम्बन्धी ३८ वटा निवेदनमा ३६ वटा मिलापत्र भएको २ वटा अदालत गएको प्रहरी जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काका अनुसार आर्थिक वर्ष २०७७ र ७८ मा २ सय ११ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएका थिए । आव २०७७र७८ मा घरेलु हिंसा शारीरिक, मानसिक, आर्थिक यातना सम्बन्धी १ सय ५० निवेदनमा १ सय १९ मिलापत्र भएको र २८ वटा निवेदन अदालत गएको र ३ वटा निवेदनको काम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराइएको छ । यस्तै श्रीमान पीडित भएको २० वटा निवेदनमा १३ वटा मिलापत्र भएको र ७ वटा अदालत गएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीय विवाद, झैँ–झगडा , गालीगलौज सम्बन्धी ४१ वटा निवेदनमा ३५ वटा मिलापत्र भएको ३ वटा अदालत गएको र ३ वटा काम बाँकी रहेको प्रहरी जनाएको छ ।

घरेलु हिंसासम्बन्धीका निवेदनमा पीडित र पीडकबिच मिलापत्र हुने बढी छन् । जिल्लामा मानव अधिकार मञ्च, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपाल, महिला बालबालिका कार्यालयले समेत घरेलु हिंसाका घटनामा बहस पैरवी गर्दै आएका छन् । खान लाउन नदिएको, शारीरिक, आर्थिक र मानसिक यातना दिएको, यौनजन्य यातना दिएको भनेर अधिकांश महिलाबाट आफ्नै श्रीमानविरुद्ध उजुरी आउने गरेको पाइएको छ । यस्ता उजुरीउपर दुई पक्षबीच छलफल गराई सकेसम्म मिलापत्र गराई पठाएपछि ती घटनामा थप दोहोरो उजुरी नआउने गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो समयमा स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसा र साधसधीयारका विवादको आउने गरेको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिइएकी छन् । महिला हिंसाका बारेमा खानलाउन नदिएको, कुटपिट गरेको, सामान्य खर्च पनि नदिने गरेको, जग्गा सम्बन्धी विवाद जस्ता उजुरी आउने र त्यो उजुरीमा दुवै पक्षलाई झिकाएर छलफल गराउने गरेको उनीले बताएकी छन् ।