होटलमा महिला र पुरूष मृत भेटिए

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक महिला र एक पुरूष मृत फेला परेका छन् । उनीहरु धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ र ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

उनीहरु आइतबार राति बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताएका छन् ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।