हराएको नागरिकता दुरूपयोग गरी ठगी गर्ने तीन पक्राउ

काठमाडौं । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका ९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका(११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका ८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने भनी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गदे आएका थिए ।

विशेष सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको छ ।