म्याग्दीमा श्रमदान गरेर दुई किलोमिटर सडक मर्मत

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो ।

अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिएको छ ।

सचिव पुनका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो ।