पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ । आइतबार राति खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिए । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । 

सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ ।

यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उनले जानकारी दिएका छन् ।