क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

काठमाडौँ । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । अहिले २० महिला सहित ४ सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागुऔषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् ।

 क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत  समस्या भएको छ । कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदीबन्दीले पालो मिलाउँदै आएका छन् ।

कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भने, ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ”, कैदीबन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उनले गुनासो गरेका छन् । क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ”, उनले भने, “सबै भवन पुराना छन् । बर्सातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।” उनका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेरसमेत कैदीबन्दीलाई राखिएको छ ।

“केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं”, उनले भने, “कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ”, कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।

कोरोनाको सङ्क्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको सङ्क्रमण देखा परेको छैन”जेलर थापाले बताएका छन् । “केही कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएकाले उपचार भइरहेको छ ।”