मंसीरको निर्वाचनमा म्यादी प्रहरीको तलब झण्डै ५० हजार

Temporary police personnel guard the Office of the Chief Returning Officer in Ilam, on Sunday, June 18, 2017. Photo: RSS

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनबापत रु सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले ९ज्याकेट खरिद० मा रु एक हजार थप पाउनेछन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

यस्तै आवतजावत भाडा खर्च रु एक हजार दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन् । यो खर्च भने सबै प्रहरीले पाउनेछन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।