लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

काठामाडौँ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाएका छैनन् ।

जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आउनुभएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । “सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन”, उनले भने, “कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।”

“बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ”, उनले दुखेसो पोखे । “लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ”, उनको गुनासो गरे । “चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्” उनले दुःखेसो पोखेका छन् ।

यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुःखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासी बताउँछन् ।

गाउँपालिकाको वडा नं ३ मल्लाजको चिउरी पतलाबाट ४० वर्षअघि बसाइँ सरेर लामाखेतस्थित धुलेपाल्सिङ सामुदायिक वन छेवैमा आएर सुकुम्बासी बसेका हुन् । पटक–पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरे पनि उनीहरूको माग अझै सुनुवाइ भएको छैन ।

“चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्, जितेर गएपछि फर्किएर आउँदैनन्”, उनले भने, “भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन् तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।” लालपुर्जाको आशमा धेरैपटक कुश्मा पुगेर फारम भरे पनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरूले गुनासो पोखे ।

लामाखेतका सुकुम्बासीहरूको समस्या वर्षौँदेखिको भएको र समाधानको पहल भएको पूर्व वडाध्यक्ष भीष्म मल्लले बताए । राष्ट्रिय भूमि आयोगमा सबै कागजात पु¥याएको र पुर्जा पाउने प्रक्रियामा रहेको उनको भनाइ छ । राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले सबै भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्वासीका आवेदनहरु सङ्कलन भइसकेको अब लालपुर्जा वितरणको प्रक्रियामा रहेको जानकरी दिएका छन् ।