सुधार केन्द्रबाट एकैदिन १३ जना दुर्व्यसनी फरार

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका ७ मा रहेको जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट शनिबार साँझ १३ जना दुर्व्यसनी फरार भएका छन् । सो सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६स् ४५ बजेतिर फरार भएको प्रहरीले बताएको छ। केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालका अनुसार साँझ खाना खाने तयारी हुँदै गर्दा सुरक्षागार्डलाई कब्जामा लिएर दुर्व्यसनीहरु फरार बनेका हुन्।

‘सुधार केन्द्रमा खाना वितरणको तयारी भएको बेला हप्किदप्कि गरी सुरक्षागार्ड पालेलाई नियन्त्रणमा लिँदै केन्द्रको ताला फोडेर उनीहरु फरार बनेछन्,’ दाहालले भने, ‘भाग्नलाई अगाडिदेखि नै योजना बनाएको पाइएको छ। समूह बनाएरै फरार बनेपछि केन्द्रमा खटिएका तीन जना सुरक्षागार्डले थेग्न सकेनन्।’ शब्जी काट्ने चक्कु, डाडु, पन्यू र दाउराले हान्न खोजेर तथा ढुंगासमेत प्रहार गरेर सुरक्षागार्डलाई डर देखाउँदै दुर्व्यसनी फरार भएको दाबी उनले गरेका छन्।

केन्द्रको ताला भने फरुवाले हानेर फोडेको दाहालले बताए। उनका अनुसार झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानका सेवनकर्तालाई सुधार केन्द्रमा राखिएको थियो। ‘भागेकाहरु सबै जना परिवारको सम्पर्कमा पुगेको पाइएको छ। परिवारको सम्पर्कमा पुगेपछि मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको खुल्यो,’ दाहालले भने, ‘प्रहरीसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ। अहिलेसम्म एक जना पनि भेटिएका छैनन्।’ उनले दुई–तीन दिनभित्रमा सबै जनालाई फेला पारिसकिने पनि बताए।

लागूऔषध तथा नशाजन्य वस्तुको दुर्व्यसन र कुलतमा फसेकालाई सुधार गर्दै समाजमा पुर्नस्थापना गर्न सहयोग पुर्‍याउने जिम्मेवारी पाएको सुधार केन्द्र दुर्व्यसनीलाई दिइने यातना तथा त्यहाँ राखिएकाको मृत्युको विषयलाई लिएर पटकपटक विवादमा परिरहेको छ। एकैपटक ठूलो संख्यामा दुर्व्यसनी फरार बनेपछि सुधार केन्द्रको सुरक्षालाई लिएर प्रश्न उठेको छ। सुधार केन्द्रभित्र दिइने यातना सहन नसकेर उनीहरु फरार भएको हुनसक्ने आशंका आफन्तले गरेका छन्।

दुर्व्यसनी कसरी फरार भए भन्ने कुरा पनि सीसी क्यामेरामा कैद रहेको छ । केन्द्रका सबै गतिविधि सीसी क्यामेरामा कैद हुन्छ। यहाँभित्र कुनै पनि पनि गलत काम हुँदैन,’ उनले भने, ‘एक जना मान्छे भागेको भए सुरक्षाको विषयलाई लिएर प्रश्न उठ्ने थियो। तर बल प्रयोग गरेर समूहमै भागेका कारण यसमा केन्द्रको कुनै कमजोरी छैन।’