नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख २ हजार ६ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । 

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ १ करोड ७१ लाख ३२ हजार १ सय ७०, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १ सय ६८ गरी ५ करोड ४६ लाख ५१ हजार ३ सय ३८ बराबरको बिगो गरेको पाइएको छ ।

विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि रु १० करोड ९३ लाख २ हजार छ ६ ७६ बराबरको सजायको माग गरेको छ ।