अर्थतन्त्र सबल र सुधार हुँदै गएको छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताएका छन् ।

“सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भने ।

मुलुकमा लगानीयोग्य रकम अभाव रहेकाले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने मन्त्री शर्माले जानकारी दिए । चालू आर्थिक वर्षको बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिएको मन्त्री शर्माले जानकारी दिए । निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापना गर्न कार्यविधि तयार बनाई निर्यातमा नगद अनुदानको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

उपयुक्त लगानीको वातावरण निर्माणका लागि सरकारले सहजीकरण गरिहेकाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई मन्त्री शर्माले आग्रह गरेका छन् । देशमा लगानीको वातावरण बनेको भन्दै मन्त्री शर्माले कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।