झडपमा प्रहरीसहित ३ घाइते

काठमाडौँ । जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा डकैती गर्न आएका समूह र प्रहरीबीच झडप भएको छ। भलुहीस्थित एरोटेक प्रालिमा डकैती गर्न आएको समूह र प्रहरीबीच झडप भएको हो। झडप एक प्रहरी अधिकृत र डकैती समूहका २ जना घाइते भएका छन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही रहेका छन्। टाउकोमा चोट लागेका घाइते शाहीको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

डकैती समूहका घाइतेको भने प्रहरी निगरानीमा सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। झडपकै क्रममा घाइते भएकालाई नियन्त्रणमा लिन सफल प्रहरीले आफ्नो निगरानीमा उपचार गराइरहेको हो। एरोटेक प्रालिमा राति साढे १२ बजे १०–१२ जना समूहमा रहेका सो हतियारसहित उद्योगभित्र पसेको सूचना पाएपछि जितपुरबाट शाहीको नेतृत्वमा ६ जना प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुगेलगत्तै दोहोरो झडप सुरु भएको थियो।

झडपका क्रममा डकैती समूहले एक राउन्ड र प्रहरीले ३ राउन्ड हवाई फायरसमेत गरेको थियो। सोही क्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीलाई डकैती समूहले हतियारको बिँडले टाउकोमा प्रहार गरेका थिए। प्रहरीले डकैती गर्न आएकामध्ये दुई जनालाई हतियारसहित नियन्त्रणमा लिन सफल भएको हो। प्रहरीले दुई थान बन्दुक र त्यसमा लाग्ने ३ थान गोलिसहित नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा जितपुरसिमरा–९ का जयराम पासवान र जितपुरसिमरा–१० का जवाहिर महतो छन्। पक्राउ परेकामध्ये महतोको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। अन्नपूर्णपोष्टबाट