चक्कु प्रहारबाट १० जनाको हत्या, १५ घाइते

काठमाडौँ । क्यानडामा चक्कु प्रहारबाट गरी १० जनाको हत्या भएको छ । प्रहारमा १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हतियार बोकेका उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ । प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ । प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ सुरु गरेको छ ।