असनको फुटपाथ व्यापार हटाउदै महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । नगर प्रहरीको टोलीले असन क्षेत्रमा नियमविपरीत बनाइएका संरचना र पसललाई मंगलबारदेखि हटाउन सुरु गरेको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण डोजर असन छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले खन्ती‚ घनलगायत औजार प्रयोग गर्दै ती संरचनाहरू भत्काएका हुन् ।

अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

‘सडकपेटीसम्म राखेका केही सामग्री अहिले नै हटाएका छौं । भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउँछ, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेका छौं,’ पाण्डेले भने ।