दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय भत्ता

काठमाडौँ । अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन १ हजार ५ सय भत्ता दिने भएको छ ।

समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाका अनुसार नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी भलाइ कोषमा क्रियाशील सदस्यको मृत्यु हुँदा ५ लाख क्षतिपूर्ति दिनेमा त्यसलाई बढाएर १० लाख बनाएकोसमेत प्रवक्ता थापाले बताएका छन् ।

अरनिको यातायातका कर्मचारी बहालवाला रहेकै अवस्थामा अचानक निधन भएका खण्डमा ३ लाख दिने निर्णय बैठकले गरेको छ । मजदुर, चालक, सहचालकको ५ लाखको दुर्घटना बीमाबापतको रकम दिने गरेकामा बैठकले रु १० लाख बनाउने निर्णय गरेको प्रवक्ता थापाले जानकारी दिए ।

समितिले दसैँ, तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अरनिको यातायातले काठमाडौँ पूर्वका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको छ ।