उत्तरी वजिरिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको झडपमा ५ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा ४ जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स आइएसपीआरले जानकारी गराएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ ।

पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् ।

गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीलाई मारेको थियो । त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सैनिक जवानको मृत्यु भएको थियो ।