उपत्यकाबाट लागुऔषधसहित पन्ध्र पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेका छन् ।

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ । भदौ १६ गतेदेखि भदौ २० गतेको ५ दिनभित्र ब्यूरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन २ सय ८७ ग्राम, २ सय ५२ एम्पुल र २ किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए । खनालका अनुसार – प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार ४ सय रहेको छ ।