पर्वतमा दूध उत्पादनमा वृद्धि

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको छ । व्यावसायिकरूपमा गाई भैसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको हो ।

ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । त्यसका कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ ।

“बागलुङको केही हामीकहाँ पनि आउने गरेको छ”, केन्द्रप्रमुख रामजीप्रसाद पौडेलले भने, “हामीकहाँ आउने र जाने हिसाब गर्दा दैनिक १५ देखि १७ सय लिटर दूध जिल्लाबाट बाहिरिन्छ ।” उनका अनुसार पश्चिम बागलुङको केही दूध कुश्मामा बिक्री हुँदै आएको छ ।

हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा ७० देखि रु ८० तथा खुद्रा रु ९० देखि रुएक सय २० मा बिक्री हुँदै आएको छ । दूधालु गाईभैंसीले एकै बेतमा करिब १ लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकालले कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाए । “व्यवसाय पाँच वर्षअघि नै दर्ता गरेको हुँ”, उनले भने, “परिवारलाई जिम्मा लगाएर युरोपतिर जाने सोचेको थिएँ, कोरोनाले रोक्यो, त्यसपछि गाई थपें, अब कतै नजाने विचार गरेको छु ।” करिब ४० रोपनीमा उन्नत घाँस लगाएको उनले १८ माउगाई पालेका छन् ।

विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ । त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर बिक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ ।

कुश्मा ९ का शिव ढकाल छ वर्ष साउदीमा रोजगारी गरेर फर्किएपछि पशुपालनमा लागेका छन् । पााच वर्षअघि चार गाईबाट सुरु गरेको व्यवसाय अहिले डेढ दर्जनभन्दा बढी माउगाईमा विस्तार भएको छ । ढकालले दैनिक दुई सय लिटर दूध बजार पठाउन थालेका छन् । फलेबासकी उपप्रमुख शोभा क्षत्रीले आफ्नै फार्मबाट दैनिक अढाई सय लिटर दूध पोखरा पठाउँदै आएका छन् ।