मोरङमा वृद्धा महिलाको शव फेला

काठमाडौँ । मोरङको रंगेली नगरपालिका १ स्थित माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परेको छ। रंगेली १ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव बुधबार साँझ फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका हुन् ।

डीएसपी श्रेष्ठका अनुसार कृष्णमाया बिहान ९ बजेतिर आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा माछा पोखरीमा शव फेला परेको हो।

शव भेटिएको पोखरी कृष्णमायाको घरबाट लगभग ५०० मिटर उत्तरमा पर्छ। शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताएका छन् ।