सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका थिए । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गरेका थिए । उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख समेत गरेका थिए ।

‘प्रधानसेनापति शर्माले नेपाली सेना सवै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गदै राज्यमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाको मूल्य–मान्यताको सम्बर्द्धन र प्रवर्द्धन गर्दै सकलदर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विषयमा सम्बोधनका क्रममा उनले जोड दिएका थिए ।

निकट भविष्यमा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको वाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उनले सेनालाई निर्देशन दिएका थिए ।