डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको अभाव

काठमाडौं । डेङ्गुको सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकामा सिटामोल अभाव भएको छ । उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेपछि बजारमा सिटामोल अभाव भएको हो ।

डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।

औषधि उत्पादकहरूका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ । तर, उत्पादकका अनुसार यसको उत्पादन लागत नै १ रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे डेङ्गु सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको बताए । तर, पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उनको दाबी छ ।

निजी व्यवसायीले व्यावसायिक सामाजिक उत्तरदायित्व सीएसआरअन्तर्गत मात्रै पारासिटामोल उत्पादन गरेको भन्दै उनले पारासिटामलको मूल्य भारतमै १ चक्कीको २ रुपियाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई १४ वर्षदेखि एक रुपियाँ मूल्य तय गरेको छ र त्यही मूल्यमा उपलब्ध गराउँदै आएका छौँ ।