रसुवागढी नाकाबाट आउन थाल्यो सामान

काठमाडौँ । लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

रसुवागढी नाकाको नेपालतर्फ ुचाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । बिहीबार बिहान ७ वटा चिनियाँ कन्टेनरमा सामान आयात भएको उनले जानकारी दिए । केरुङमा रोकिएका कन्टेनर बिहीबार बिहानबाट आउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । चिनियाँ पक्षले चौबिसै घन्टा सामान पठाउन हामी तयार छौं भनेका छन्ु जैसीले भने ।

नाका बन्द हुँदा दसैं, तिहार र जाडोको लागि आयात गरिएको अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । केरुङमा रोकिएको ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज, दसैं र तिहारका सामान लोड थिए । नेपाली २ सय ५० कन्टेनर सामान सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए ।

चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यापारीहरुले व्यवसायबाटै हात धुनपर्ने अवस्था आउने हिमालय सिमापार व्यापार संघको निवर्तमान उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए । चाडबाडको मुखमा समयमा समान रोकिँदा बजारमा सामानको अभाव हुने, महँगी बढ्ने लगायतको समस्या हुने व्यापारीको गुनासो छ ।