केही दिन अझै वर्षा हुने

काठमाडौँ । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।”

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

मौसमविद्का अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ । दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।