एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान १ १ गोल गरे । खेलको छैटौँ मिनेटमा जोनीले गोल गर्दै बङ्गलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ११ औँ मिनेटमा नोभाले गोल गर्दै बङ्गलादेशलाई २–० को अग्रता दिलाइन ।

खेलको २६ औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् । त्यसपछि खेलको ३५ औँ मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो ।

बङ्गलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए ।

अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बङ्गलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए । त्यसपछि खेलको ५२ औँ मिनेटमा निजुमले गोल गर्दै बङ्गलादेशलाई ३–० को जित दिलाए ।

नेपालको यो चौँथो हार हो । पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । बङ्गलादेशको यो दोस्रो जित हो ।