राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

पौडेलले सामाजिक संजाल मार्फत् जननिर्वाचित संसद्बा‍ट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको सट्टा विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन् ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार भएको पौडेलको निष्कर्ष छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’

राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन् । संसद्‍ले विधेयक दोश्रो पटक पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । कान्तिपुरपोष्टबाट