मोहम्मद दर्जी गोलीकाण्ड : अझै भेटिएनन् सुटर

काठमाडौं । कागेश्वरी मनहरा नपा–८ गोठाटारको कृष्णमन्दिर छेउमा रहेको एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्टमा विभिन्न स्कुल कलेजका ट्र्याकसुट तथा लत्ताकपडा बन्थ्यो। यसका सञ्चालक थिए, ५५ वर्षीय मोहम्मद दर्जी। जो अपरिचित व्यक्तिको गोली प्रहारबाट सोमबार राति मारिए। सर्लाहीका दर्जी मोहम्मद नामबाट व्यापारीमाझ चिनिएका थिए। उनले गोठाटारमा एक घरको फ्ल्याट भाडामा लियर ३ वर्षदेखि गार्मेन्ट उद्योग चलाउँदै आएका थिए।

उनी बसेको घर अगाडि नै उनीमाथि सोमबार साँझ अपरिचित व्यक्तिबाट गोली प्रहार भयो। उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएका दर्जी फर्किएनन्। घटना लगत्तै घटनास्थलमा प्रहरी पुगे पनि हालसम्म गोली प्रहार गरी फरार भएका व्यक्तिको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोली चलाउनेको खोजी भइरहेको छ।

प्रहरीका अनुसार उनलाई गोली हान्नेहरू नजिकैको होटलमा ३ दिनदेखि बसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ३ जना सुटरहरू घटनास्थल छेउको कोसीपारि गेष्ट हाउसमा बसेका थिए। तीमध्ये एक जनाले होटलमा कोठा लिएका थिए। स्रोतका अनुसार ती व्यक्ति भेट्न घटनामा संलग्न अन्य दुई जना नियमित जसो आउने गरेका थिए। दर्जीलाइ हत्या गर्न एक महिनादेखि नै योजना बनेको र योजनाअनुसार आरोपित समूहले दर्जीलाई पछ्याइरहेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार २०६४ असारमा अनामनगरस्थित धोबीखोलामा बारा घर भएका बलराम पटुवाको गोली हानी हत्या भएको थियो। पटुवा भारतीय नक्कली नोट कारोबारी थिए। पटुवाको हत्या आरोपमा प्रक्राउ परेका दर्जीले जन्मकैदको सजाय पाएका थिए। ९ वर्ष जेलपछि २०७३ सालको गणतन्त्र दिवसमा उनले राष्ट्रपतिबाट कैद छुट पाएर कैदमुक्त भएका थिए।

लेनदेनका कारण केही व्यक्तिले धम्की दिएकाले आफू असुरक्षित भएको भन्दै मोहम्मदले केही दिनअघि प्रहरी बिट जम्बु डाँडामा निवेदन दिएका थिए। त्यो निवेदनबारे बिटले प्रहरी वृत्त बौद्धलाई जानकारी पनि गराएको थियो। तर, प्रहरीले दर्जीलाई कुनै सुरक्षा प्रदान गरेको देखिँदैन। उनले सुरक्षाको माग गर्दै प्रहरीमा जानकारी गराए पनि प्रहरीले बेवास्ता गर्नुमा उनको आपराधिक छवि भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन्।

‘३ सुटर घटनास्थल छेउको कोसीपारि गेष्ट हाउसमा बसेका’ 
५ सदस्यीय अनुसन्धान समिति गठन

मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक झोला लिन काठमाडौंको जोरपाटी गएका थिए। कपडा लिन आएका ग्राहकलांई सामान दिन झोला नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए। उनी गार्मेन्ट भएको घर पुग्दा साढे ६ बजिसकेको थियो। दर्जी कारबाट निस्कदै गर्दा एक्कासि झिल्कोसहित केही पड्एकिएको आवाज आयो। माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पेस्तोल ताकेर लखेटिरहेका थिए। ती युवकले दर्जीलाई गाडी वरपर लखेटी–लखेटी गोली हानेका थिए। प्रहरीका अनुसार दर्जीलाई टाउकोमा २ राउन्ड र तिघ्रामा १ राउण्ड गोली हानिएको थियो।

उनी घर पुग्नुअघि नै उनको घर अगाडि पल्सर मोटरसाइकलमा केही युवाले कुरेर बसेका थिए। त्यहाँ मोहम्मद श्रीमती, २ छोरी र १ छोराका साथ बस्दै आएका थिए। प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ। घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली, र प्रहरीको विशेष ब्युरो खटिएको छ ।

प्रहरीले दर्जीको घटनापछि उनको पृष्ठभूमिलाई केलाएर अनुसन्धान थालेको छ। घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन भएको छ। अन्नपूर्णपोष्टबाट