कपन आगलागी : मृतकको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिए । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

ताजा अपडेट