आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका : मन्त्री रेग्मी

काठमाडौँ । काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवस मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थासँग आह्वान गरेकी छन् ।

कार्यक्रमलाई सम्बोधन गदै मन्त्री रेग्मीले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन् ।

‘‘परिषदबाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्ने गरी सङ्घसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको छ । सामाजिक सङ्घ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्ध रहेको मन्त्री रेग्मी को भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे छ । उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए ।

प्रधानमन्त्री देउवाले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए ।

सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा समारोह आयोजना गरेको हो । यो वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको छ ।

गैरसरकारी सामाजिक क्षेत्रलाई सङ्गठित गर्ने उद्देश्यले विसं २०४३ असोज ६ गते स्थापना भएको समाज कल्याण परिषद्को वार्षिकोत्सवका दिन हरेक वर्ष सामाजिक सेवा दिवस मनाइँदै आएको छ ।