नक्कली प्रमाणपत्र बुझाएको आरोपमा शिक्षक सोडारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियारले कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालयका अध्यापनरत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको छ । उनीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारको आरोप छ । आरोपित सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नी हुन् ।

झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।