मिठाईको बट्टामा लागुऔषधको तस्करी, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले १२ हजार ७ सय ५८ एम्पुल बरामद गरेको छ। वीरगंजबाट काठमाडौं आएको बसमा मिठाईको बट्टामा लागुऔषध कारोबार गर्ने ३ जानलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी योगेन्द्र कुमार खड्काले बताएका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ घर भएका ३९ वर्षीय अर्जुन ढकाल, बारा कलैया उपमहानगरपालिका वडा नम्बर ८ घर भएका २१ वर्षीय अजय महतो र सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका घर भएका ४४ वर्षीय रामबहादुर तिमिल्सिना रहेका छन् ।

ब्युरोका प्रवक्ता खड्काका अनुसार उनीहरूले वीरगंजबाट मिठाईको बट्टामा ल्याएको लागुऔषध १२ हजार ७ सय ५८ एम्पुल बरामद गरेको छ। यसको बजार मूल्य २५ लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ।

‘नयाँ तरिकाबाट मिठाईको बट्टामा लागुऔषध ल्याइरहेको अवस्थामा केही मानिस नियन्त्रणमा लिएका छौँ। मिठाई भन्दै गाडीमा राखेर काठमाडौं पठाउने गरेको पाइयो,’ एसपी खड्काले भने।

एक महिलाले वीरगंजबाट मिठाई भन्दै न्यु एन्जल कम्पनीको प्रदेश नम्बर ०२-०३-००१ ख ३६२८ नम्बरको भाडाका बसका सहचालकलाई सामान दिएकी थिइन्। सहचालक अजय महतोले ५ सय रुपैयाँ लिएर मिठाइको बट्टा काठमाडौं ल्याएका थिए।

‘महिलाले सहचालक लाई मिठाइ काठमाडौं लग्दिनु भन्दै ५ सय रुपैयाँ दिएर पठाएको देखिन्छ,’ एसपी खड्काले भने। ढकालले मिठाईको बट्टा पाएपछि कहिले काहीँ सहचालकलाई ५ सय रुपैयाँ समेत दिने गरेको अनुसन्धानमा खुलेको छ।

मिठाईको बट्टा भित्र लागुऔषधहरु भएको खुल्छ। सहचालकबाट बट्टा बुझेपछि अर्जुन ललितपुरस्थित बागडोलमा भाडामा लिएको कोठामा राख्ने गरेका थिए। उनी भने चुनिखेलमा बस्दै आएका थिए।

‘लागुऔषध स्टोर गर्नको लागि नै भाडामा कोठा लिएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,’ एसपी खड्काले भने। प्रहरीले मिठाइको बट्टा भन्दै लागुऔषध बोक्ने भाडाको बसलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सहचालक र चालकले आफूहरूलाई बट्टाभित्र लागुऔषध भएको थाहा नभएको दाबी गरेका छन्। तर, २७ पटकसम्म यसरी ओसारपसार गरेकाले अनुसन्धानको लागि पक्राउ गरेको सपी खड्काले बताएका छन् ।