शिक्षकको हत्या गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौँ । शिक्षकको हत्या गरेको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन्। प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो।

उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ। ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। शिक्षकको कोठामा शव भएको स्थानीयको भनाइ छ ।

अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए।

ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपीट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले बताए । पक्राउ परेकी महिलाले समेत घटना आफैँले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन्। घटनाबारे प्रहरीले भने प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै यसबारे थप बताएको छैन।