संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र : पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् । सोमबार भरतपुरमा प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको बताएका हुन् ।

‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।

प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले ठाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए । नेपालमा मात्रै नभई संसारभरि त्यस्तै हुने प्रचण्डले बताए । ‘ कहिलेकाँही त षडयन्त्र पहिले सोचेभन्दा कयौं गुणा ठूलो भएर पनि आउने गर्दछ । संसारभरि त्यस्तै छ नेपाल त्यसको अपवाद नभएको बताए ।

सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमिच सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए । परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ छ ।

अब जनताले फैसला गर्ने दिन आएको छ । गत स्थानीय तह निर्वाचन संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता भएको बेला जनताले फैसला गरेको उल्लेख गर्दै उनल मंसिर ४ मा पनि नतिजा राम्रो आउने विश्वास भएको बताए ।