नेपालीहरुको ठूलो पर्व दशैं सुरु, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौँ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजबाट दशैंको नवरात्र आराम्भ भएको छ।काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।

घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

घटस्थापना गरिएको स्थानमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ। देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पति जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखेर पूजा आराधनापछि दशमीका दिन मान्यजनका हातबाट आशीर्वादसहित देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने चलन छ।

बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।