मनास्लुमा हिमपहिरो, उद्धारका लागि हेलिकप्टर सामागाउँ पुग्यो

काठमाडौँ । सोमबार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा बताएका छन् । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण आएको छैन।

मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको पनि उनले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको उनले बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडा हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताए ।

त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् । पुर्जाको समूहले यस पटक मनास्लुबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएको छ ।

विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ ।