पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका(३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भीर घाइते भएकी छन् ।

घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् । सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान गर्न प्रहरी सोमबार घटनास्थल गएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मारिनेमा स्थानीय अन्दाजी ५५ वर्षीया बिबी माझी छिन् । उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते भएकी छिन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् ।

माझी समुदायको सोह्रश्राद्ध सबैभन्दा ठूलो चाडपर्व हो । उक्त पर्वमा माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा उनीहरुको विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्छन् र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाउँछन् । नदीमा पितृ बगाएपछि सोह्रश्राद्ध सकिन्छ ।

छोरी मरेपछि आमालाई घरअघिको आँगनमा निकालियो । घर वरीपरी कोही आउन दिइएन । घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खबर गरियो । सुरुमा प्रहरीले पनि सकेन ।

दोस्रो प्रयासमा सादा पोसाकमा हतियारसहित पुगेको प्रहरीले सुनमायालाई उद्धार गर्‍यो । घटनास्थलबाटै १८ जनालाई पक्राउ गरेको छ ।