ट्राफिक प्रहरी मीरा चौधरीको नाममा रकम असुली

काठमाडौँ । काठमाडौं महानगरपालिका १० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ । ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले प्रमुख चौधरीको नाममा रकम असुली गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गाडी लक र फलामको साङ्लो लिएर हिड्ने यादव गाडी र मोटर साइकलमा लक लगाएपछि सम्झाई बुझाइ गरेको जस्तो गर्ने, गाडी र मोटर साइकल नम्बर डायरीमा टिपेर राख्ने र २ देखि ५ सय रुपियाँ घुस लिएर लक खोल्ने गरेका छन् ।

यादवले नयाँ बानेश्वर, धोबीखोला किनारमा रहेका होटेलबाट रकम असुली गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ रहेको छ ।योसँगै यादवले आफूले खोला किनारमा पार्किङ्ग गर्न दिएकाले दशैँको बेला सहयोग गर्नुपर्ने अन्यथा पार्किङ्ग गर्न नदिने भन्दै त्यस क्षेत्रका पसल र होटलसँग रकम माग गर्ने गरेका छन् ।

यसरी उठाएको रकम माथिसम्म पुर्याउनुपर्ने भन्दै यादवले उजुरी गरे राम्रो नहुने भन्दै धम्क्याउँदै आएको पनि ट्राफिक प्रहरीले बताएको छ ।