चार हजार ६ सय २७ जनालाई जरिवाना

काठमाडौँ । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका ४ हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा ४ हजार ६ सय २७ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ ।

जिल्लामा रहेका १५ स्थानीय तहमा उम्मेदवार बनेका ४ हजार ८ सय २९ उम्मेदवारमध्ये २ सय २ जनाले मात्र निर्वाचनमा खर्च गरेको खर्च विवरण बुझाएको तथा बाँकी ४ हजार ६ सय २७ जनाले खर्च विवरण नबुझाएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख÷उपप्रमुखका उम्मेदवारलाई ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही २ लाखको दरले जरिवाना तोकेको छ ।

गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई ३ लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेकामा जिल्लामा निर्वाचनमा ४ हजार ८ सय २९ उम्मेदवारमध्ये २ सय दुईजनाले मात्रै खर्च विवरण बुझाएका थिए भने ४ हजार ६ सय २७ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् । 

निर्वाचनमा उम्मेदवार भएका जिल्लाको खर्च विवरण नबुझाउने उम्मेदवारहरुले आयोगले तोकेको दण्डको रकम एकपटकका लागि माफ गरी थप एक चोटि म्याद दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । 

निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।