बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार बियरको बोतलको प्रहारबाट गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि आफन्तले अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब साढे १० बजे गुलरिया नगरपालिका–११ इन्द्रपुरस्थित गाउँबाट फरार रहेका ४५ वर्षीय थारुलाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका लौरंगलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए ।